![]() |
बिहीबार अपरान्ह आक्रोशित व्यावसायीहरुको एक समूहले जनकचोकमा भेला भएका मोर्चा सम्बद्ध नेताहरुमाथि हातपात गर्ने प्रयास गरेका थिए । साथै चोकमै राखिएका सद्भावना अध्यक्ष संजयकुमार सिंहको ज २ प ५९१९ तथा तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष रुपनारायण मण्डलको ज ३ प २९९१ नम्बरको मोटरसाइलमा आगजनी गरेका थिए । आगजनीबाट दुबै मोटरसाइकल पूर्णत: नष्ट भएका छन् ।
आक्रोशित व्यावसायीहरुले चोकमा रहेका संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष शेषनारायण यादव,सदभावना अध्यक्ष सिंह,तमस पार्टीका अध्यक्ष मण्डललगायतका नेताहरुमाथि आक्रमण गर्न खोज्दा उनिहरु जनकचोकमै अवस्थित रुफटप होटलमा छिरेका थिए तर केही युवकहरु होटलमा पुगेर समेत मोर्चा नेताहरुमाथि हातपात गर्न खोजेका थिए ।
सद्भावना अध्यक्ष सिंहले निर्णायक बन्दै गएको मधेस आन्दोलनलाई विथोल्न कांग्रेस तथा एमाले समर्थित घुसपैठियाहरुले मोर्चाका नेता तथा कार्यकर्तामाथि आक्रमण गर्नुका साथै मोटरसाइकलमा आगजनी गरेको बताए । मोटरसाइकलमा आगजनी गर्न जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजयकुमार साहले उक्साएको आरोप पनि सिंहले लगाए ।
मोर्चाका नेताहरुको मोटरसाइकल जलाएको घटनापछि आक्रोशित बनेका आन्दोलनकारीले कांग्रेस र एमाले विरुद्ध चर्का नाराबाजी गरेका थिए ।
प्राप्त जानकारी अनुसार—बिहीबार बिहान संघीय समावेशी गठबन्धन सम्बद्ध युवा संगठनले निकालेको लाठी जुलुस तथा अपरान्ह मोर्चाको अगुवाईमा निकालिएको जुलुसको क्रममा जानकी चोकमा खुल्ला रहेका केही पसल तथा व्यापारिक प्रतिष्ठानहरुमा तोडफोड गरिएको थियो ।
तोडफोडको घटनाबारे जानकारी गराउन व्यावसायीहरुको एक समूह जनकपुर उद्योग वाणिज्य संघ पुगेर अध्यक्ष शिवशंकर साह हीरासँग गुनासो गरिरहेकै बेला अज्ञात व्यक्तिले फोन गरी जनकचोकमा पुन: पसल तोडफोड गरिएको सूचना दिएका थिए । सूचना प्राप्त भए लगतै आक्रोशित बनेका व्यावसायीहरु जनकचोकमा रहेका मोर्चाका नेता तथा उनीहरुको मोटरसाकलमाथि आक्रमण गरेका थिए ।
![]() |

Post a Comment